दाङ, २२ साउन – राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङमा दुई सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिजौरी गाविस –४ की १७ बर्षिया पुष्पा चौधरीको र तुलसीपुर गाबिस – ५ की ३२ बर्षिया यमकुमारी थापा हुन् । उनीहरुबाट जन्मिएका बच्चाहरु भने सकुशल रहेको राप्ती उपक्षेत्रीय अस्पतालका सुचना अधिकृत अब्दूल मारुफ खानले जानकारी दिए ।
हजारौंमा एक दुईजनालाई आईपर्ने समस्याका कारण दुई सुत्केरीको ज्यान गएको राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिकाश देबकोटाले बताए ।
डा.देवकोटाका अनुसार पुष्पा चौधरीको प्रिइक्लोसियाका कारणले र यमकुमारी थापाको अत्यधिक रक्तश्राबको कारण मृत्यु भएको हो ।
गत साउन १९ गते शल्यक्रिया गरेर सुत्केरी भएकी यमकुमारी थापालाई १२ यूनिट रगत चढाएपनि उनको शरीरमा रगत नजमेर लगातार रक्तश्राब भईरहेको कारण हिजो बुधबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।