काठमाण्डु, २२ साउन– प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएकामा एमाले धादिङ नेतृत्व आक्रोशित भएको छ ।
एमाले धादिङका कार्यबाहक अध्यक्ष भूमि त्रिपाठीले प्रहरीले नक्कली मुठभेडको नाममा चरीको नियोजित हत्या गरेको आरोप लगाए ।
कानुनविपरीत गतिविधि गरेको भए पक्राउ गरी कारबाही गरिनुपर्ने उनको भनाइ छ । ‘कानुनविपरीत गतिविधि गरेको भए पक्राउ गरेर जेल हाल्न सकिन्थ्यो’, त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘नक्कली मुठभेडका नाममा गैरन्यायिक हत्या भयो ।’ जस्तोसुकै अपराधीलाई पनि बाँच्न पाउने अधिकार रहेको भन्दै उनले प्रहरीलाई मान्छे समाएर मार्ने अधिकार कसले दियो ? भन्ने प्रश्न गरे ।
उनले चरीलाई निहत्था अवस्थामा पक्राउ गरेर एक्लै जंलगमा लगेर गोली हानिएको दाबी गरे । उनले डन नभई राजनीतिक कार्यकर्ता भएको जिकिरसमेत गरे । ‘एउटा राजनीति कार्यकर्तालाई निहत्था अवस्थामा समातेर जंगलमा लगेर गोली हानेर मारियो’, त्रिपाठीले भने, ‘प्रहरीलाई गोली हानेर मान्छे मार्ने अधिकार कसले दियो ?’ उनले घटनाको सत्थतथ्य छानबिन गरी दोषी प्रहरीमाथि कारबाहीको माग गरे । अन्यथा अवस्था भयावह हुन सक्ने चेतावनी त्रिपाठीले दिए ।
धादिङ त्रिपुरेश्वरका स्थायी बासिन्दा चरी एमाले क्षेत्र नम्बर–१ का पूर्वउपाध्यक्ष हुन् ।
एमाले जिल्ला नेतृत्वले चरी मारिएकामा आपत्ति जनाए पनि यसबारे केन्द्रीय नेतृत्वबाट केही प्रतिक्रिया आएको छैन ।
सयअघि पटकपटक हत्या, फिरौती, तस्करी लगायत विभिन्न अभियोगमा पक्राउ परे पनि राजनीतिक संरक्षणमा उन्मुक्ति पाउँदै आएका थिए ।
चरीको काठमाण्डु र धादिङको सीमाना भीमढुंगामा बुधबार साँझ प्रहरीसँगको मुठभेडमा मारिएका थिए ।