प्रहरीको इन्काउण्टरमा मारिए गुण्डा नाइके चरी

काठमाण्डु टुडे २०७१ साउन २१ गते १२:११ मा प्रकाशित

chariकाठमाण्डु, २१ साउन– मोष्ट वान्टेड सूचीमा रहेका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको इन्काउण्टरमा मारिएका छन् ।
उनी काठमाण्डुको भीमढुंगा–६ नर्सरी भञ्ज्याङमा बुधबार प्रहरीको जवाफी कारबाहीमा मारिएका हुन् ।

घटनामा गोली लागी एक प्रहरी जवानसमेत घाइते भएका छन् । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरे ।
चरी लुकेर बसेको सूचनाका आधारमा गस्तीमा गएको प्रहरी टोलीमाथि एक्कासि फायरिङ गरेपछि प्रहरीको जवाफी कारबाहीमा अपराह्न पाँच बजेको समयमा उनी मारिएको कार्कीले बताए ।
उनी एमाले धादिङ क्षेत्र नम्बर–१ का उपाध्यक्षसमेत हुन् । ६ महिनाअघि धादिङकै अर्का गुण्डा नाइके राधे भण्डारीमाथि नयाँबजारमा कुखुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले मुद्धा दायर गरेपछि उनी फरार थिए ।

८ महिनाअघि उनीमाथि राधेको समूहले थानकोटमा गोली हानेको थियो । पाखुरामा गोली लागेका चरी त्यस बेला बाँचे । गोली लागेको घाउ निको भएलगत्तै राधेलाई खुकुरी हाने । प्रहरीले व्यापक खोजी गरेपछि भागेर भारत पुगेका चरी दुई साताअघि मात्र राजधानी भित्रिएको प्रहरी स्रोत बताउँछ ।
काठमाण्डुका केही व्यापारीलाई चन्दा मागेर धम्क्याएको सूचनाका आधारमा प्रहरीले उनको पिछा गरेको थियो । चरीले काठमाण्डुको नयाँबजार क्षेत्रलाई आधार बनाएर लामो समयदेखि संगठित गुण्डागर्दी गर्दै आएका थिए । प्रहरी कारबाहीबाट जोगिन चरी दुई वर्षअघि एमाले प्रवेश गरेका थिए ।

गैंडाको खाग तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका चरी यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा छुटेका थिए ।
यस्तै हतियारसहित पक्राउ पर्दा उनी राजनीतिक दबाबमा सार्वजनिक अपराध ऐनअन्तर्गत धरौटीमा छुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us