अछाम, २१ साउन – राष्ट्रिय अनुसन्धानको असई भन्दै स्थानीयलाई ठग्दै हिँडेका एक व्यक्तिलाई अछाम प्रहरीले पक्राउ गरेको छ ।
बस्ती भेटघाटका क्रममा जिल्लाको दुर्गम गाविस कालेकाँडा–६ भनाकोट पुगेको प्रहरी टोलीले सुराकीका आधारमा कालिकोट कुमालगाउँ–४ का २८ वर्षीय राजबहादुर बुढालाई पक्राउ गरेको हो ।
उनले आफूलाई राष्ट्रिय अनुसन्धानको असई भन्दै स्थानीयलाई झुक्याउन खोजेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
गाउँलेलाई विषादी मिसाएको बिस्कुट खुवाएर रकम लुटपाट गर्ने कार्यमा संलग्न रहेको भनी उजुरी परेपछि उनी कालिकोटबाट अछाम आइपुगेको प्रहरीको भनाइ छ ।
उनले यसअघि सुर्खेत, दैलेख र कालिकोट जिल्लामा यस्ता घटना घटाएको भन्दै प्रहरीमा उजुरी परेको थाहा भएपछि अछाम प्रहरीले उनीमाथि कडा निगरानी गरेको थियो ।
राजबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटसम्म पु¥याउन इलाका प्रहरी कार्यालय राकम दैलेखको जिम्मा लगाइएको अछाम प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कालेकाँडाबाट प्रहरी सहायक निरीक्षक कल्याणसिंह साउदको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
पछिल्लो समयमा अछाममा लुटपाट र चोरीका घटना बढिरहेका छन् । रासस