राजविराज, २१ साउन – नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालतले १५ वर्षीय बालकलाई कसुरदार ठहर गर्दै पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले बालकलाई बालसुधार गृहमा राखी कैद भुक्तान गर्ने ठहर गरेको अदालतले जनाएको छ ।
जिल्ला अदालतका तत्कालीन न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको गत कात्तिक ५ गतेको थुनछेक आदेशले बालकलाई पुर्पक्षका लागि बालसुधार गृह विराटनगरमा राखिएको छ ।
अदालतले बलात्कारको आरोपमा अर्का एक १२ वर्षीय बालकलाई अब आयन्दा यस्ता अपराधजन्य क्रियाकलाप नगर्नु भनी सम्झाइबुझाइ गर्दै २० दिन कैद सजाय गर्ने ठहर गरेको छ ।
उनलाई २०७० असोज ४ गतेदेखि कात्तिक ३ गतेसम्म प्रहरी हिरासतमा रही कैद भुक्तान गरिसकेका छन् । उनलाई अदालतले गत कात्तिक ४ गते अभिभावकको जिम्मामा मुद्दा पूर्पक्ष गर्ने आदेश गरेको थियो ।
बाख्रा चराउन फत्तेपुर गाविस–२ स्थित पर्सा सामुदायिक जङ्गल गएकी पीडित बालिकालाई गत भदौ ३१ गते १५ वर्षीय बालकले र असोज १ गते १२ वर्षीय बालकले बलात्कार गरेका थिए ।
घटनाबारे पीडितकी आमाले गत असोज ४ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराएकी थिइन् । जबर्जस्ती करणी मुद्दा दर्ता गर्दै प्रहरीले दुवै बालकलाई सोही दिन गिरफ्तार गरेको थियो ।