धादिङ, २० साउन- एकीकृत माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ ले पार्टीभित्र अराजक गतिविधि गर्ने जो कोहीलाई नछाड्ने
चेतावनी दिएका छन् ।
धादिङ सदरमुकाममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी नीति, पद्धति र विधानविपरीत गतिविधि गर्ने सबैमाथि कारबाही गरिने बताए ।
एमाओवादी स्थायी समिति बैठकले सोमबार असन्तुष्ट बाबुराम भट्टराई पक्षधर केही नेतामाथि अनुशासनको कारबाही गरेको थियो ।
पुनले पार्टीभित्र बसेर कसैले पनि समानान्तर गतिविधि गर्न नपाइने भन्दै त्यस्ता नेता कारबाहीमा परेको उल्लेख गरे । ‘पार्टी नीति, पद्धति र विधानविपरीत गतिविधि गर्नेमाथि कारबाही गरिएको हो’, पुनले भने, ‘पार्टी हितविपरीत काम गर्ने कसैलाई छाडिँदैन, कारबाही हुन्छ ।’
स्थायी समितिले समानान्तर कमिटी बनाएको भन्दै भट्टराई पक्षधर पोलिट्ब्युरो सदस्य गंगानाराण श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिना निलम्बन गरेको छ ।
यस्तै तीनपटक भन्दा बढी बिनाजानकारी बैठमा अनुपस्थित रहेको भन्दै टोपबहादुर रायमाझीलाई सचिव र देवेन्द्र पौडेललाई स्थायी कमिटीबाट हटाइएको थियो ।
पुनले रायमाझी र पौडेलको स्थानमा अन्य नेतालाई मनोनयन गरिने बताए । पुन पार्टीको वैचारिक–राजनीतिक प्रशिक्षणमा सहभागी हुन धादिङ पुगेका हुन् ।