
काठमाण्डु, २२ मंसिर– रुसी सेनामा कार्यरत रहेका पाल्पाका विष्णुबहादुर पौडेल परिवारको सम्पर्कबिहीन भएका छन । बिरामी रहेर अस्पतालमा उपचार गराउँदै आएका उनी पछिल्लो समय परिवारको सम्पर्कविहीन भएका छन ।
पटक पटकको प्रयासपछि पनि सम्पर्कमा नआएपछि उनको परिवार चिन्तित भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ पाल्पा घर भएका पौडेल असोज २९ गते नेपालबाट रुस गएका थिए । रुस गएको केही समयपछि उनी रुसी सेनामा भर्ना भएका थिए ।
घरपरिवारलाई वैदेशिक रोजगारीको लागि रुस जान लागेको बताएका थिए । घर परिवारबाट रुसमा अहिले युद्ध चलिरहेकाले त्यहाँ नजान घर परिवारले आग्रह गरेका थिए । तर, उनी त्यहाँ पुगे । रुसी सेनामा भर्ना भएका उनलाई ३ नोभेम्बर २०२३ मा नियुक्ति पत्र दिइएको परिवारीक स्रोतले जानकारी दिएको छ । त्यसपछि उनलाई युक्रेनमा सीमामा खटाएको थियो ।
घरपरिवारसँगको सम्पर्कमा उनले निकै चिसो रहेको हिउँमा बस्नुपर्ने बताउँदै आएका थिए । केही दिन अगाडि बिरामी परेपछि उनलाई अस्पताल लगिएको थियो । छाती दुख्यो भनेर अस्पताल लगिएका उनमा फोक्सोमा समस्या देखिएको थियो । अस्पताल बसाइको क्रममा घरमा सम्पर्क भइरहन्थ्यो । तर, अहिले सम्पर्क नै हुन नसकेको उनका साला मदन रायमाझी जानकारी दिएका छन ।
उनलाई दिइएको नियुक्ति पत्रमा रुसी राइफल म्यानको जिम्मेवारी दिइएको थियो । उनलाई रोस्टभ रिजनको पेरसिअनोस्कि गाउँमा खटाएको थियो । उनको घर परिवारले उद्धार गरेर नेपाल पठाइदिन अनुरोध गरेको छ । नेपाल सरकार तथा रुस सरकारसँग समेत उनीहरूले उनको उद्धार गरिदिन आग्रह गरेका हुन् ।