काठमाण्डु, २० साउन– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा प्रधानमन्त्रीको कोट तानेको विषयमा काठमाण्डु टुडेले प्रकाशित गरेको समाचार पत्रकारलाई देखाएका छन् ।

सञ्चारकर्मीले प्रधानमन्त्रीलाई हातको कुइनो समातेर तानेको विषमया प्रश्न गरेपछि उनले मोबाइलमा काठमाण्डु टुडे लगइन गरेर समाचार देखाएका हुन् । समाचारमा राखिएको फोटो देखाउँदै उनले त्यसमा आफ्नो गल्ती नभएको जिकिर गरे ।
‘काठमाण्डु टुडेले मैले प्रधानमन्त्रीलाई समातेको चारवटा फोटो राखेको छ, मैले समातेकै हुँ, रिजालले भने, ‘तर यसमा मेरो कमजोरी कहाँ छ, तपाईंहरुले औंल्याइदिनुस् ।’
त्यस क्रममा उनले बिरामी प्रधानमन्त्रीलाई आफूले सहयोग गर्दा मिडियाले गलत प्रचार गरेको आरोप लगाए । तर आम सर्वसाधारण, सामाजिक सञ्जाल र नेपालको कुटनीतिक वृत्तमा विशिष्ट विदेशी पाहुनाका अगाडि आफ्ना प्रधानमन्त्रीको हुर्मत लिएको भन्दै उनको तीव्र आलोचना भइरहेको छ ।