
काठमाण्डु, १७ मंसिर– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले मान्छेको हत्या गरेर चुनाव जित्ने कुरा अत्यन्तै कुरा घिनलाग्दो भएको बताएका छन् ।
आज (आईतबार) महाकाली—मेची यात्राका क्रममा अछामको विनायकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको दाबी गरेका छन ।
ओलीले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साहित गरेको दाबी गरे । उनले भने, ‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो ।
यो कुरा हामीले संसद्मा पनि भनिरहेका छौँ । सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साहित गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् । जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला सुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ ।
अहिलेको सरकारले हत्याराहरूलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको छ ।’ एमाले अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा आपति जनाएका छन ।