थुनिएको सुनकोसी खोल्न सेनाले बम फड्काउँदै

काठमाण्डु टुडे २०७१ साउन २० गते ३:०१ मा प्रकाशित

सिन्धुपाल्चोक २० साउन– सिन्धुपाल्चोकमा भीषण पहिरोपछि थुनिएको सुनकोसी नदीको प्राकृतिक बहास सुचारु गराउने प्रयास आज पनि जारी छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अधिकारी, भूगर्भविद, मौसम विदको सुझावमा नेपाली सेनाले बम विस्फोट गराएर थुनिएको नदी खोल्न लागेको हो ।

त्यसका लागि काठमाण्डुबाटै नेपाली सेनाको प्राविधिक टोली बिहानै घटनास्थल पुगेको छ । यसअघि सेनाले नै विस्फोट गराएपछि सानो आकारमा नदी बग्दै आएको छ ।

यसैबीच बेपत्ताको खोजीकार्य आज पनि जारी राखिएको छ । माङखा गाविसको जुरेमा शुक्रबार बिहान गएको पहिरोका कारण माङखा, राम्चे र धुस्कुनका करिब १ सय ८० जना बेपत्ता भइरहेको सिन्धुपाल्चोक प्रहरी प्रमुख भरत बोहराले जानकारी दिए ।

पहिरोमा सोमबारसम्म ३३ जनाको शव फेला परेको छ । पहिरोले स्थानीयका ५२ घर बगाउँदा करिब पाँच सयजना घरबारविहीन भएका छन्  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us