काठमाण्डु, २० साउन– लिम्बूवान राज्य प्राप्तिको माग राखेर क्षेत्रीय राजनीति गर्दै आएका पूर्वका पाँचवटा लिम्बूवान पार्टीहरुबीच एकता भएको छ ।
धनकुटाको भेडेटारमा तीन दिनसम्म बसेको ती पार्टीको बैठकले औपचारिक रुपमा एकताको निर्णय गरेको हो ।
वीर नेम्वाङ नेतृत्वको लिम्बूवान मुक्ति मोर्चा, कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद, सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बूवान राज्य परिषद, कमल छाराहाङ नेतृत्वको संघीय गणतान्त्रिक पार्टी र रामभक्त कुरुम्बाङ नेतृत्वको लिम्बूवान मुक्ति मोर्चाबीच एकता भएको हो ।
नयाँ पार्टीको नाम संघीय लिम्बुवान पार्टी तय गरिएको छ । एकतापछि संयुक्त पार्टीको अध्यक्षमा कुमार लिङदेन चयन भएका छन् । यस्तै नेम्बाङ सर्वमान्य नेता, पालुङवा वरिष्ठ नेता, कुरुम्बाङ वरिष्ठ उपाध्यक्ष र छाराहाङ वरिष्ठ केन्द्रीय सदस्य भएका छन् ।
सूर्य माखिम महासचिव बनेका छन् । त्यस्तै सबै पार्टीका उपाध्यक्षहरु उपाध्यक्ष, महासचिवहरु उपाध्यक्ष, सचिवहरु सचिव र कोषाध्यक्षहरु अर्थ समितिको सदस्य बेनका छन् ।
सबै केन्द्रीय सदस्यहरु केन्द्रीय सदस्यकै हैसियतमा रहने छन् । करिब एक वर्षको प्रयासपछि लिम्बूवान समूहहरुबीच एकता भएको हो ।