काठमाण्डु, २० साउन–मलेसियामा गैरकानुनी हैसियतमा रहेकामध्ये १ हजार ९ सय ५९ जना नेपाली स्वदेश फिरेका छन् । केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसैवर्ष जनवरीदेखि जुन महिनासम्मको अवधिमा उनीहरु अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन् ।
स्थानीय एक दैनिकमा प्रकाशित समाचारअनुसार गत ६ महिनाको अवधिमा नेपालीसहित १५ हजार एकसय ९ जना गैरकानुनी आप्रवासी कामदारले आत्मसमर्पण गरेका थिए । उक्त अवधिमा त्यसरी फिर्नेमध्ये नेपालीको संख्या दोश्रो ठूलो हो ।
स्वदेश फिर्नेमा श्रीलंकाली सबैभन्दा बढी छन् । उक्त अवधिमा आत्मसमर्पण गर्नेमध्ये २ हजार २८ जना श्रीलंकाली, एकहजार ८ सय ५८ भारतीय, एकहजार ६ सय २९ फिलिपिनो, एकहजार ६ सय ६ इण्डोनेसियाली, एकहजार १६ बर्मेली, एकहजार ९ पाकिस्तानी, नौसय ५२ बंगलादेशी र नौसय ४८ जना भियतनामी रहेका जनाइएको छ ।
मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई विभागमा आत्मसमर्पण गरेपछि माफी पाउने र निश्चित रकम जरिवाना तिरेर स्वदेश फिर्नसक्ने अवसर दिँदै आएको छ ।
उसले पछिल्लोपटक गत आगामी डिसेम्बर ३१ सम्म अध्यगामन विभागमा उपस्थित भई जरिवाना र फिर्ती पासका लागि एकसय गरि ४ सय रिंगिट तिरेर घर र्फकने अवसरसमेत दिएको छ ।
दुईसाता अघिदेखि दिइएको उक्त अवसरको पनि तीन हजारभन्दा बढी गैरकानुनी आप्रवासीले सदुपयोग गरिसकेका जनाइएको छ । तर तीमध्ये कति नेपाली छन् भन्ने जानकारी छैन ।
अब गैरकानुनी हरेक नेपालीलगायत सबै आप्रवासी कामदार मलेसियाली अध्यागमन विभागमा पुगेर जरिवाना र फिर्ती पासका लागि ४ सय रिंगिट तिरेर सहजै स्वदेश फिर्न पाउँछन् ।
यसअघि नेपाली दुतावासको पहलमा जरिवाना र पासको लागि अहिलेभन्दा एकसय रिंगिट बढी तिरेर गैरकानुनी हैसियतका नेपालीहरु फिरेका थिए । कान्तिपुर दैनिकबाट