काठमाण्डु, १९ साउन – विराटनगर राष्ट्रिय सम्मेलनबाट सुरु भएको पार्टी विवाद चर्कंदै गएका बेला एमाओवादीले असन्तुष्ट बाबुराम भट्टराई पक्षधर केही नेतालाई कारबाही गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा सोमबार साँझ बसेको स्थायी कमिटी बैठकले सो पक्षका नेतालाई कारबाही गरेको हो ।
बैठकले पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादयवलाई कारबाही गरेको हो । उनीहरुले पार्टी हितविपरीत विभिन्न जिल्लामा समानान्तर कमिटी बनाएकाले कारबाही गरिएको स्थायी कमिटी सदस्य लोकेन्द्र विष्टमगरले बताए ।
विष्टका अनुसार उनीहरुलाई तीन महिनाका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको छ । यस्तै बैठकले टोपबहादुर रायमाझीलाई सचिव र देवेन्द्र पौडेलेलाई स्थायी कमिटी सदस्यको जिम्मेवारीबाट हटाएको छ ।
तीन पटकसम्म बिनाजानकारी लगातार बैठकमा अनुपस्थित रहेकाले पार्टी विधानअनुसार उनीहरुलाई सो पदबाट हटाइएको विष्टले जनाए । अब उनीहरु केन्द्रीय सदस्यको हैसियतमा रहनेछन् ।
आफूहरुको अनुपस्थितिमा गराइएको निर्वाचनबाट अवैधानिक तवरले जिताइएको भन्दै भट्टराई पक्षले पद अस्वीकार गर्दै आएको थियो । विराटनगर राष्ट्रिय सम्मेलनपछि नेतृत्वमा चयनमा विवाद भएका कारण माओवादीले पोलिट्ब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचनबाट चुनेका थियो ।
निर्वाचन बहिस्कार गरेका भट्टराई पक्षका रायमाझी सचिव, भट्टराई र पौडेल स्थायी समिति तथा श्रेष्ठ र हिसिला यमी पोलिट्ब्युरो सदस्यमा निर्वाचित भएका थिए । बैठकले नेता बाबुराम भट्टराईलाई तत्काल स्थायी कमिटी बैठकमा उपस्तिथ हुन दिर्नेशन दिएको छ ।
पार्टी फुटको दिशामा भट्टराई पक्ष
। यसैबीच भट्टराई पक्षले संस्थापन पक्ष पार्टी फुटाउन उद्धत रहेको आरोप लगाएको छ । सो पक्षका नेता देवेन्द्र पौडेलले समानान्तर कमिटीबारे छानबिन गर्न विवाद समाधान समिति बनेका बेला भएको कारबाहीले पार्टी विभाजनतिर डोर्याएको प्रतिक्रिया दिए ।
उहाँहरुको यस्तो व्यवहारले पार्टी बन्दैन’, पौडेलले भने, ‘यसले पार्टीलाई फुटको दिशामा उन्मुख गराएको छ ।’ उनले नेताहरुमाथि भएको कारबाही तत्काल फिर्ता गर्न माग गरे ।