
काठमाण्डु,२ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई सङ्घर्षमा जुट्न आग्रह गरेका छन ।
आज (शनिबार) सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले यस्तो आग्रह गरेका हुन । उनले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई एउटै मोर्चामा आबद्ध भै निर्णायक सङ्घर्षमा जुट्न आह्वान गरेका हुन् ।
उनले सुरुदेखि नै हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेन्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल भएको बताएका छन । उनले भनेका छन्– ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेन्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल हो।
सङ्ख्याको कमीले संविधानसभाबाट राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न नसकेता पनि जनताको अभिमतबाट हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ। यही अधिकारको कारण राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्।’
उनले अहिले विभिन्न दल, व्यक्ति र समूह राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभिएका र सङ्घर्ष गर्न तयार भएको देख्दा आफूलाई खुसी र गौरवको अनुभूति भएको समेत थापाले बताएका छन् ।