मोदीसँग गएनन् जितबहादुर

काठमाण्डु टुडे २०७१ साउन १९ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, १९ साउन– नेपाल भ्रमणका क्रममा दिल्लीबाट सँगै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेपाली धर्मपुत्र जितबहादुर सारुमगर jitbahadurमोदीसँग गएनन् ।
उनी अहिले परिवारसँग नवलपरासीस्थित पुख्र्यौली घरमा बसिरहेका छन् । मोदीसँग बिदा मागेर उनी आइतबारै परिवारको साथ घर पुगेका थिए । मोदी भेट्न आएकी आमाको घर लैजाने चाहना बुझेपछि उनले मोदीसँग बिदा मागेका थिए ।

उनले आफू बढीमा एक साता परिवारसँगै बसेर दिल्ली जाने बताए । ‘एक हप्ता परिवारसँग बसेर दिल्ली जान्छु’, जितबहादुरले काठमाण्डु टुडेसँग टेलिफोनमा भने ।

मोदी भने नेपालको दुई दिने भ्रमण पूरा गरेर सोमबार दिल्ली पुगिसकेका छन् । नेपाल भ्रमणमा आउनु अघिल्लो दिन शनिबार ट्वीट गर्दै मोदीले जितबहादुरलाई उनका आफन्तको जिम्मा लगाउन आतुर रहेको बताएका थिए । तर जितबहादुरकी आमाले आफूले पढाउन नसक्ने भन्दै सँगै लैजान आग्रह गरेपछि मोदीले उनलाई फेरि लैजाने भएका छन् ।
१० वर्षको उमेरमा करिब १५ वर्षअघि दाजुसँग कामका लागि दल्ली गएका जितबहादुर काम गर्ने ठाउँबाटै हराएका थिए ।

गुजरातको धर्मशालामा बेवारिसे अवस्थामा भेटेर एक महिलाले मोदीको घरमा पुर्‍याइदिएकी थिइन् । मोदीकै संरक्षणमा हुर्किएका जितबहादुर अहिले बीबीय अध्ययनरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us