
काठमाण्डु–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा केही यस्ता घटना देखिए । जसमध्ये केही इतिहासमै सधैं चर्चाका लागि लायक हुने खालका छन् । मोदी भ्रमणका क्रममा भएका केही गम्भीर र केही रमाइला प्रतिनिधि घटनालाई यहाँ प्रस्तुत गरिएको छ ।
घटना नम्बर–१
मोदी भारतीय सेनाको विशेष विमानमार्फत पूर्वनिर्धारित समयअनुसारै आइतबार बिहान १० बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । उनको स्वागतमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम, संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतका अधिकारी झण्डै एक घण्टाअघि नै विमानस्थल पुगिसकेका थिए । मोदी आएको जहाज विमानस्थलमा अवतरण भयो । उनी स्वागतका लागि कुरिरहेका नेपाली समकक्षीतिर आउँदै थिए । उनका लागि रातो कापर्नेट बिछ्याइएको थियो । तर मोदीले रातो कार्पेटमा नटेकी खाली जमिनमा हिंडे ।
घटना नम्बर–२
स्वागतका लागि प्रतिक्षारत प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई पुष्प गुच्छा दिए । त्यस क्रममा कोइराला धेरै नै हडबढाएका देखिए । उनले मोदीसँग अंगालो मार्न खाजेजस्तो गरे, तर बसाइ उल्टो परेका कारण मिलेन । पत्रकारले कोइरालाले भारतीय समकक्षीलाई पुष्पगुच्छा दिएको तस्वीर लिन खोजे तर कोइराला पिठ्युँ क्यामेराको लेन्सतिर पारेर उभिदिए । सभाध्यक्ष सुवास नेम्वाङले मोदीलाई पुष्प गुच्छा दिन खोज्दा कोइराला बीचमा उभिन पुगे । यो कुटनीतिक रुपमा विल्कुलै सुहाउने व्यवहार थिएन ।
घटना नम्बर–३
सरकारले मोदीको सम्मानमा विमानस्थलमै १९ तोपको सलामी दिने निर्णय गरेको थियो । त्यसका लागि सैनिक टोली पहिल्यै तम्तयार थियो ।
प्रधानमन्त्री, संविधानसभा अध्यक्ष र मन्त्रीहरुको स्वागत ग्रहण गरेपछि मोदी सिधै सम्मान गारद ग्रहणका लागि बनाइएको स्थानमा उभिए । मोदीकै छेउमा गएर उभिए प्रधानमन्त्री सुशील कोइराला । सम्मान मोदीका लागि थियो, कोइरालाका लागि होइन । तर पनि कोइराला सँगै बसेर कुटनीतिक मर्यादाविपरीतको व्यवहार प्रदर्शन गरे । त्यति मात्र होइन, मोदीको सम्मानमा सेनाले सलामी दिने समयमा पहिला भारत र पछि नेपालको राष्ट्रिय धुन बजाइएको थियो । मोदीले सम्मान स्वीकार गरेर दाहिने हात उठाए, तर कोइराला चुपचाप उभिमात्र रहे ।
घटना नम्बर–४
मोदी भ्रमणका लागि सवारीमन्त्री तोकिएको थियो, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई । प्रधानमन्त्री कोइराला मोदीको स्वागतको समयमा अल्मिलिएका बेला रिजालले पटकपटक प्रधानमन्त्रीको कोट समातेर ताने । जुन कुटनीतिक मर्यादाका हिसाबले सुहाउने दृष्य थिएन । परराष्ट्र मामिलाका जानकारहरुले रिजालको त्यस्तो व्यवहारले प्रधानमन्त्री कोइराला र मुलुककै हुर्मत लिएको टिप्पणी गरेका छन् ।
घटना नम्बर–५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगी नेपाली समकक्षी सुशील कोइरालासँग भेटवार्ता गरे । त्यसलगत्तै राष्ट्रिय योजना आयोगको सभाकक्षमा दुई देशीय प्रतिनिधिमण्डलको संयुक्त बैठक बस्यो । त्यहाँ विभिन्न तीनवटा सम्झौतामा हस्ताक्षर भयो । सिंहदरबारबाट मोदी व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्न संविधानसभा भवन नयाँबानेश्वरका लागि निस्किए । मोदीको सवारीका लागि भारतबाटै ल्याइएको बमप्रुफ बीएम डब्लु गाडीको बबरमहलको सडकमा टायर पञ्चर भयो । केहीबेरमै सुरक्षाकर्मीले गृह मन्त्रालयबाट नेपाली नम्बर प्लेटको गाडी मगाएर मोदीलाई संविधानसभा भवन पुर्याए ।
घटना नम्बर–६
गाडीको टायर पञ्चर भएपछि अर्को गाडीको व्यवस्था भयो र मोदी अगाडि बढे । नयाँबानेश्वर चोकमा पुगेपछि मोदीले चालकलाई गाडी रोक्न लगाए र आफू सडकमा ओर्लिए । सरकारले मोदीको सुरक्षामा बाँकी राखेको थिएन । तर मोदी भने सुरक्षाको प्रवाहै नगरी ढुक्कसँग सडकमा
निस्किए । मोदीको सवारीका कारण सुरक्षाकर्मीले रोकेका सर्वसाधारणको बानेश्वर चोकमा ठूलो भीड थियो । सायद मोदीले ती मानिस आफ्ना स्वागतका लागि जम्मा भएका ठाने वा केही । उनी भिडमा गए, र सबैलाई देव्रे हात उडाएर अभिवादन गरे । भिडमा रहेका सबै छक्क परेर फोटो खिख्च थाले । सडकमा भेटिएका धेरै नेपालीसँग उभिएर मोदीेले फोटो पनि खिचाए । त्यति मात्र होइन उनले सडकमा भेटिएका नेपालीसँग पालैपालो तस्वीरसमेत खिच्न भ्याए । मोदीको व्यवहारबाट प्रभावित भएर सर्वसाधारणले स्वतस्फुर्त रुपमा ‘मोदीको जय होस्, नरेन्द्र मोदी जिन्दावाद’ को नारा लगाए ।
घटना नम्बर–७
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मोदीको स्वागत गरे र आफ्नो आशनको नजिकै व्यवस्था गरिएको विशेष आशनमा मोदीलाई राखे । नेम्वाङले आग्रह गरेपछि मोदी सम्बोधनका लागि उठेर रोष्ट्रममा गए । धेरैको अनुमानविपरीत उनले नेपालीमा भाषण गरे । ४८ मिनेट संसदलाई
सम्बोधन गरेका मोदीले पहिलो तीन मिनेट नेपालीमै बोलेका थिए । मोदीले नेपालीमा भाषण सुरु गरेपछि संसदमा तालीको गडगडाहट सुनिएको थियो । मोदीको भाषणबाट प्रभावित भएर सभासदहरुले पटकपटक ताली बजाएका थिए ।
घटना नम्बर–८
प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीको सम्मानमा आइतबार राजधानीको सोल्टी होटलमा रात्रि भोज आयोजना गरे ।
सामान्यतया: सरकार प्रमुख वा राष्ट्र प्रमुखले आयोजना गरेका त्यस्ता भोजहरुमा सीमित मानिसहरुको सहभागिता हुने गर्दछ । तर उक्त भोजमा करिब साढे २ सयको सहभागिता थियो ।
नेपालको कुटनीतिक इतिहासमा सरकार प्रमुखले विशिष्ट विदेशी पाहुनाको सम्मानमा आयोजना गरेको रात्रिभोजमा यतिधेरैको सहभागिता रहेको यो पहिलोपटक हुन सक्छ । रात्रिभोजमा प्रधानमन्त्री कोइराला निकै थकित र गलित देखिन्थे । बोल्दा बेलाबेलामा बोली अवरुद्ध भएजस्तो हुन्थ्यो । एकपटक रिंगटा लागेर झण्डै मञ्चबाट तल खसेका थिए । रात्रिभोजमा प्राय: रक्सीको प्रयोग हुनु सामान्य नै मानिन्छ । तर उक्त भोजमा रक्सी थिएन ।