
डोटी, १९ कात्तिक– डोटीमा जिप दुर्घटना हुँदा ८ महिने शिशुसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
धनगढीबाट बाजुरा जाँदै गरेको ग२च म२७७६ नम्बरको बोलेरो जिप गएराति २ बजे केआई सिंह राजमार्गअन्तर्गत डोटीको शिखर नगरपालिका–६ अण्यौलमा दुर्घटना भएको हो ।
डोटी प्रहरी प्रमुख एसपी विष्णुहरि कोइरालाले गाडी अनियन्त्रित भई सडकबाट ५० मिटर तल नदीमा खसेको जानकारी दिए ।
दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका–५ की ३२ वर्षीया धनशोभा बुढा उनका छोरा ६ वर्षीय छोरा कबिन्द्र, २२ वर्षीया राधिका मलाल र ८ महिनाकी बालिका प्रार्थना मल्लाको ज्यान गएको कोइरालाले बताए ।
प्रार्थनाकी आमा बिमला मलाल गम्भीर घाइते छिन् । जिपमा सवार हिमाली–५ कै ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल घाइते भएका छन् ।
घाइते सबैको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले गाडी चालक बाजुरा गौमुल गाउँपालिका–४ का २९ वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएको छ ।