
काठमाण्डु, १४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राखेको धारणाको प्रशंसा गरेका छन् ।
संघीय संसद भवन नयाँबानेश्वरबाट बाहिरिने क्रममा संवाददाताहरुसँग मंगलबार कुरा गर्दै उनले महासचिव गुटेरेसको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया दिए ।
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने घोषणा ठूलो कुरा भएको उनको भनाइ थियो ।
‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो । यो नेपालको लागि खुसीको कुरा हो’, प्रचण्डले भने, ‘ जलवायु र गरिबी निवारणसम्बन्धी फन्डहरु छुट्याउने भन्ने यो भन्दा ठूलो कुरा केही हुन्न ।’
शान्ति प्रक्रियाका बाँकी काम टुंग्गाउने सन्दर्भमा पनि गुटेरेसबाट राम्रो धारणा आएको उनले बताए । नेपालकै केही नेताले भने संक्रमणकालीन न्यायसम्बन्धी कामलाई टुंगोमा लैजाने सन्दर्भमा देश विभाजित छ भन्ने देखाउन खोजेको भन्दै असन्तुष्टि जनाए । उनको संकेत एमाले अध्यक्ष केपी ओलीतर्फ थियो ।
ओलीले गुटेरेससँगको भेटमा प्रधानमन्त्री प्रचण्ण्डले हिंसालाई महिमा मण्डन गर्ने हिंसा सुरु भएको दिनलाई दिवसका रुपमा मनाउने निर्णय गरेको शान्ति प्रक्रिया जटिल बनाएको आरोप लगाएका थिए ।
‘नेपालको शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसको राम्रो धारणा छ’, उनले भने, ‘नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनुभयो, यो दुर्भाग्यपूर्ण छ ।’