शेरबहादुरलाई होइन, जनतालाई ढोगेर राजनीति गर्नुपर्छः गगन

काठमाण्डु टुडे २०८० भदौ २२ गते १९:०४ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– कांग्रेस महामन्त्री गगनकुमार थापाले अर्को निर्वाचनबाट दार्र्इले टिकट दिने प्रथा अन्त्य गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार आयोजित जित कार्यक्रममा थापाले पार्टी विधानले उम्मेदवार छान्ने अधिकार सभापति वा अरु नेतालाई नदिएको जिकिर गरे ।

उनले नाम नदिए पनि सभापति देउवातर्फ संकेत गर्दै दाई भनेका हुन् । वडाको सभापति छान्ने अधिकार पार्टीले दिए पनि वडाअध्यक्ष उम्मेदवार छान्ने अधिकार भने नेतालाई नभएको जिकिर उनको थियो ।

‘अन्तिममा गएर टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले भाउजुलाई नै टिकट दिने हो’, थापाले भने । थापाले १५औं महाधिवेशनबाट यस्तो प्रणाली बदल्ने प्रतिबद्धता उनले जनाए ।

‘सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमुक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ’, उनले भने, ‘त्यो मतदानबाट सबैभन्दा बढी मत पाउने व्यक्ति उम्मेदवार बन्छ ।’

प्रत्यक्ष र समानुपातिक उम्मेदवार नै त्यसै गरी छानिने थापाले बताए । माथिका राजामहाराजाको संरक्षणले राजनीति गर्ने दिन सकिएको भन्दै थापाले तलका कार्यकर्ता र जनतालाई ढोगेर जय नेपाल भन्नेहरु नेता बन्ने दिन आउने जिकिर गरे । ‘माथिको कुनै राजा महाराजाको संरक्षण भएर कसैले पनि जमिनमा खुट्टा टेक्न पाउँदैन ।

जमिनमा खुट्टा टेक्नका लागि तपाइँको घर नआइ तपाइँलाई जय नेपाल नभनी वा नढोगी हुँदैन’, उनले भने, ‘तपाइँलाई ढोग्नु भनेको प्रकारान्तरले राजनीति नेतातिर फर्केकोबाट उल्टाएर जनतातिर फर्काउनु हो ।’

पार्टीमा न्याय स्थापित नगरी त्यस्तो पार्टीले जनतालाई न्याय गर्न नसक्ने थापाको स्पष्टोक्ति थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us