
काठमाण्डु, २१ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिको जिम्मा लिननसक्ने बताएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद धवलशमशेर राणाले यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राप्रपाको सदस्य नभएको दाबी गेर ।
राणाले घटनामा संलग्न व्यक्तिसँग जोडेर राप्रपामाथि आक्षेप लगाउने काम भएको भन्दै आपत्ति जनाए । राप्रपाले कहिले पनि हिंसामा विश्वास नगर्ने उनको भनाइ थियो । राणाले घटनामा संलग्नमाथि कारबाहीको माग गरे ।
‘हिजो महेन्द्र यादव र मसँगै थियौं । हामीले बोलेसकेपछि बाहिरिने क्रममा एउटा व्यक्तिले खुकुरी प्रहार गर्यो। मेरै आँखा अगाडि घाइते हुनुभयो । त्यो व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो । यो विषयलाई लिएर राप्रपालाई आपेक्ष लगाउने काम गरियो, उनले भने, ‘यो विषय प्रष्ट होस् त्यो व्यक्ति हाम्रो पार्टीमा संलग्न छैन। उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ ।’
नुवाकोट विदुर नगरपालिका–७ का श्यामबाबु सापकोटाले बुधबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा भृकुटीमण्डपमा यादवमाथि खुकुरी हानेका थिए ।
टाउकोमा गम्भीर चोट लागेका यादवको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ । प्रहरीले पक्राउ गर्ने क्रममा उनले राजतन्त्रको पक्षमा होहल्ला गरेका थिए ।