समिति चयनमा भएको दलीय सहमतिले कोशीमा सरकार बन्छः प्रचण्ड

काठमाण्डु टुडे २०८० भदौ १२ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिको नेतृत्व चयनका क्रममा दलहरुबीच भएको सहकार्यले कोशी प्रदेशमा सरकार गठन र पूर्णता दिने विषयलाई सहज बनाउने बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले सरकार सफल हुने पनि बताए । ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन’, उनले भने, ‘छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ ।

प्रधानमन्त्रीको दल माओवादी केन्द्रले आफ्नो भागमा परेको संसदको पूर्वाधार समिति सभापतिमा राप्रपालाई दिएको थियो । राप्रपा सांसद दीपक सिंह आइतबार समिति सभापतिमा निर्वारोध भए ।

‘हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ’, उनले भने, ‘ त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us