
काठमाण्डु, १२ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ गठबन्धनसँग कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर सरकारमा जाने सहमति नभएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग लिङदेनले राप्रपाले चाहे मुख्यमन्त्री नै दिने अवस्था रहेको दाबी गरे । ‘कोशीमा सभामुख र एक मन्त्री लिएर राप्रपाले सरकारलाई सहयोग गर्ने प्रचार गरिएका छे, यसमा सत्यता छैन, ‘लिङ्देनले भने, ‘प्रक्रियाको हिसाबले पनि राप्रपाले कोशीमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र विश्वासको मत दिने चरण समाप्त भइसकेको छ ।’
आफू विदेश भएका बेला राप्रपाले संसदको पूर्वाधार समितिको सभापति लिएको विषयमा समेत अनेक टिप्पणी भएको बताए । उनले त्यसलाई लेनदेनसँग जोडेर प्रचार गरिएकौ भन्दै आपत्ति जनाए ।
‘हामीले एउटा समितिको नेतृत्व गर्ने मौका प्राप्त गरेको विषयलाई लेनदेनसँग गाँसेर गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै पनि प्रकारको लेनदेनको सहमति भएको छैन भन्ने म स्पष्ट पार्न चाहन्छु ।’
संसदीय समितिमा दलको आकार अनुसार राप्रपाले सभापति पाएको जिकिर उनले गरे । लिङदेन देशबाहिर रहेका बेला कार्यबाहक अध्यक्ष बुद्धिमान तामाङले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।
उनीहरुबीच कोशी प्रदेश सरकारमा सहभागी हुने सहमति भएको र सोही सहमतिका आधारमा आफ्नो भागमा परेको समिति सभापति दिन प्रचण्ड राजी भएको समाचार आएको थियो । राप्रपाका दीपक सिंह पूर्वाधार समितिको सभापति चयन भएका छन् ।