मेरो पार्टीका नेता को त के कुरा भ्रष्टाचारमा मेरै संलग्नता देखिए पनि नछाड्नुः प्रचण्ड

काठमाण्डु टुडे २०८० भदौ १२ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार प्रकरणका अनुसन्धानमा प्रधानमन्त्री नै जोडिएर आए पनि नछाड्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू र आफ्नो दलका कोही व्यक्ति भ्रष्टाचारमा मुछिएको पाइए उन्मुक्ति नहुने स्पष्ट गरे । समानताको सिद्धान्तलाई सरकारले आत्मसात गरेको उनको भनाइ थियो । ‘मैले यतिसम्म पनि भनेको छु कि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन, मेरो पार्टीको कुनै नेताको त के कुरा’, प्रचण्डले भने, ‘सबै किसिमको भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार अहिले पनि उत्तिकै प्रतिबद्ध छ । भ्रष्टाचारको मामिलामा यो आफ्नो, त्यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन । गर्ने पनि छैन ।’

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि आजका दिनसम्म सामाजिक न्यायको प्रत्याभूति, सुशासनको सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहको सुधारलाई मुख्य प्राथमिकतामा राख्दै काम गरेको उल्लेख गरे ।

सरकारले कुर्सी टिकाउन नभई देश र जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको, केही हुन्न सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न एकपछि अर्को राम्रो काम गर्दै आएको दाबी उनले गरे ।

‘भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबिन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने एउटा नयाँ आशा पलाएको हो भन्ने कुरा पनि म स्पष्ट गर्न चाहन्छु,’ उनले भने । ती विषयहरू अदालतमा विचाराधीन रहेको र उचति फैसला गर्ने विश्वास आफूले लिएको बताए ।

‘यस अवधिमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई अघि बढाएको छ । कसैलाई पनि बचाउने, कसैलाई अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम गरिएको छैन ।

कतिपय सन्दर्भमा मिडियामा आउने गरेकोभन्दा ठीक विपरीत दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्तअनुसार नै प्रहरी प्रशासनलाई निर्देशन दिएको छु,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us