हामी मुछिएका भ्रष्टाचारका फाइल खोल्न सरकार नै डरायोः एमाले सचिव अर्याल

काठमाण्डु टुडे २०८० भदौ ११ गते १४:३४ मा प्रकाशित

बुटवल, ११ भदौ– एमाले सचिव पद्मा अर्यालले आफ्नो पार्टी जोडेर चर्चा भएका भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेकी छन् ।

बुटवलमा सोमबार सञ्चारकर्मीसँग उनले एमाले नेताका नाम जोडिएका भ्रष्टाचार र अनियमितताका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न सरकारलाई आग्रह गरिन् ।

अर्यालले एमालेले सरकारलाई त्यसमा सहयोग गर्नेसमेत बताइन् । माओवादी, कांग्रेस र अरु पार्टीसँग जोडिएका भ्रष्टाचर प्रकरणमा कुनै चासो नराख्नेहरुले एमाले जोडिएका विषयमा मात्र हल्ला गरेको टिप्पणी उनको थियो ।

‘आफू र आफ्नो सरकार जोडिएका फाइल खोल या नखोल हामीलाई सरोकार छैन,’ उनले भनिन्, ‘एमाले नेताका नाम जोडिएका जति फाइल र मुद्दा सबैका अनुसन्धान गरेर कारबाही गरियोस् ।’

तर, सरकारले एकमाले नेता मुछिएका भ्रष्टाचारका फाइल खोज्न सरकार नै तयार नभएको जिकिर उनले गरिन् । फाइन खोल्दा केही नभेटिने भएका कारण सरकार त्यसमा प्रवेशै गर्न नचाहेको उनको भनाइ थियो ।

पशुपतिको जलहरीमा केही नभेटिएपछि सरकार एमाले नेता मुछिएका काण्डको फाइल खोद्यन डराएको दाबी अर्यालले गरिन् । अर्यालले वर्तमान सत्ता गठबन्धन मुलुक र जनताको पक्षमा नरहेको आरोप लगाइन् ।

गठबन्धन सरकारको ध्यान देश बनाउन भन्दा एमाले सिध्याउन केन्द्रित भएको बताइन् । अर्यालको नाम झापाको गिरीबन्धु टी स्टेश प्रकरणमा जोडिएको छ ।

केपी ओली सरकारकी भूमि व्यवस्थामन्त्री अर्यालले गिरीबन्धु टी स्टेटको हदबन्दी भन्दा बढी जग्गा सट्टाभर्नासम्बन्धी प्रस्ताव मन्त्रिपरषदमा लगेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us