एक ठाउँमा जातीय हिंसा भड्किए देशभर फैलन्छः कोइराला

काठमाण्डु टुडे २०८० भदौ १० गते १८:०७ मा प्रकाशित

काठमाण्डु, १० भदौ– कांग्रेस नेता शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताएका छन् ।

कांग्रेस सुनसरीको ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान समापन कार्यक्रमा आइतबार कोइरालाले साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामाजिक र धार्मिक सदभाव बिथोल्न खोजिएको बताए ।

मुलुकको कुनै एक ठाउँमा मात्र जातीय र धार्मिक हिंसा भड्किए त्यसको ज्वाला देशभर फैलन सक्नेतर्फ सबैले हेक्का राद्यनुपर्ने उनको भनाइ थियो ।

‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक र धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ’, कोइरालाले भने, ‘हामीलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन ।’

कोइरालाले कसैले पनि धर्मका नाममा राजनीति गर्न नहुने उल्लेख गरे । हरेक जातजाती र भाषभाषीलाई आफ्नो धर्म मान्ने अधिकार संविधानले ग्यारेण्टी गरेको उनको भनाइ थियो ।

कोइरालाले कसैको बहकावमा नलागी संयमित हुन धरानबासीमा आग्रह गरे । कोइरालाले जातीय, धार्मिक र सामाजिक सहिष्णुतामा नेपाली समाज अडेको कसैले बिर्सन नमिल्ले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us