
काठमाण्डु, १० भदौ– एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् ।
एमाले कोशी प्रदेशको बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने बताएका हुन् ।
ओली एमाले राजनीतिमा फर्कन चाहे नरोकिने उनको भनाइ थियो । ‘पार्टी काममा फर्किएर सक्रिय राजनीति गर्न चाहेको भए उहाँलाई रोकतोक गर्दैनौं’, ओलीले भने, ‘राजनीति गर्छु भन्दा कसले रोक्छ ? किन र कसरी रोक्छ ? आउने मान्छेले आउँछु त भन्नुपर्ला ।’ ओलीले भण्डारीले पूर्वराष्ट्रपतिलाई पार्टीभित्रका नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको टिप्पणी गरे ।
ओलीले राष्ट्रपति बन्नुअघि पार्टी उपाध्यक्षको भूमिकामा रहेकी भण्डारीले एमाले नेताहरुलाई भेट्नु अनौठो नभएको बताए । ‘विद्या भण्डारीजी हाम्रो पार्टीको उपाध्यक्ष नै हुनुहुन्थ्यो । उहाँ हाम्रो आदरणीय मित्र हो’, ओलीले भने, ‘हामीमध्ये कसैले उहाँलाई भेट्नु र कुरा गर्नु ठूलो कुरा होइन ।’
ओलीले यसअघि पूर्वराष्ट्रपति राजनीतिमा आउन नसक्ने बताएका थिए । एमालेभित्र र बाहिरका केही मानिसले पार्टीमा बखेडा र समस्या झिक्न उनलाई उक्साएको आरोप ओलीको थियो ।