सीआईबीले भन्योः पहिल्यैदेखिका सुन तस्करीको अनुसन्धान भइरहेको छ, सूचना दिनुहोला

काठमाण्डु टुडे २०८० भदौ ८ गते १९:१८ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसँग सम्बन्धित सूचना, तथ्य वा प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेको छ ।
सीआईबीले उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ । सीआईबीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए आफ्नो आधिकारिक इमेल [email protected] मा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न भनेको हो ।

त्यस्तो जानकारी वा सूचनाको स्रोत गोप्य रहने सीआईबीको भनाई छ । ‘आमनागरिकको साथ सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य, तथ्यमा पुग्ने हुँदा त्यसमा सकरात्मक सहयोगको अपेक्षा गरेका छौं’, सीआईबीका एसपी सूचना अधिकारी नवराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एक महिना अगाडि भन्सार छली ल्याइएको सुनको सुक्ष्म रुपमा ब्यूरोले अनुसन्धान गरिरहेको स्मरण गराउँदै त्यसअघि विभिन्न मितिमा भएका सुन तस्करी सम्बन्धमा समेत ब्यूरोले अनुसन्धान गरिरहेको अधिकारीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार प्रतिनिधिसभा बैठकका बोल्दै सुन तस्कर र बिचौलियाबारे आफूसँग सूचना रहेको र उक्त सूचना सरकारलाई उपलब्ध गराएर सहयोग गर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us