खोटाङ, १४ साउन – बौलाहा स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते भएका छन् ।
बुहुलाएर जथाभावी हिँडिरहेको स्यालको टोकाइबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया सुशीला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता खनाल र दोर्पाचिउरीडाँडा–१ का १३ वर्षीय सन्देश राई घाइते भएका हुन् ।
घाइतेमध्ये गम्भीर अवस्थाका थरप्रसाद, सुशीला र सन्देशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको स्थानीय भोजराज खानालले बताउनुभयो । उहाँका अनुसार अन्य बिरामी आफँै हिँडेर अस्पताल गए पनि थरप्रसादलाई स्ट्रेचरमा बोकेर अस्पताल ल्याइएको छ ।
स्थानीयका अनुसार थरप्रसाद, सुशीला, रञ्जु र सुनितालाई रोपाइँका लागि खेततर्फ जाँदै गरेको अवस्थामा स्यालले टोकेको हो भने सन्देशलाई सदरमुकाम दिक्तेल जाँदै गरेको अवस्थामा बाटोमा टोकेको बताइएको छ । बहुलाहा स्यालले सुशीलाको अनुहार र तिघ्रामा, थरप्रसादको दाहिने खुट्टा र सुनिताको घुँडामा टोकेको छ ।
उक्त स्याललाई तत्कालै स्थानीयले मारेका छन् । जे पायो त्यही टोक्दै हिँडेको स्याललाई आफूलाई टोक्न आएको बेला स्थानीय विक्रम विश्वकर्माले हातमा बोकेको फ्याउरीेले हिर्काएर मारेका हुन् ।
बहुलाहा स्यालको टोकाइबाट एकैसाथ पाँच जना घाइते बनेपछि त्रासका कारण स्थानीय सिर्जनशील इङ्ग्लिस बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ ।
घटनाको विषयमा जानकारी आएलगत्तै टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।