पूरक परीक्षाको तयारी, पुनः योगको नतिजा चाँडै

काठमाण्डु टुडे २०७१ साउन १४ गते ५:१२ मा प्रकाशित

काठमाण्डु, १४ साउन – एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यही साउन २० गतेदेखि हुने पूरक परीक्षाको तयारी पूरा भएको र त्यसका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ गरी सबै जिल्ला सदरमुकाममा पु¥याइसकेको जानकारी दिए ।

परीक्षाका लागि २३४ केन्द्र र केन्द्राध्यक्ष निर्धारण गरिएको छ । आवेदन दिने परीक्षार्थीको सङ्ख्या एक लाख २० हजार ६०० जना छन् । पूरक परीक्षामा उत्तीर्ण हुनेले यसै वर्ष कक्षा ११ मा पढ्न पाउँछन् तर अधिकांश निजी उमाविले भर्ना पूरा भइसकेको जनाएका छन् ।

विसं २०७० को एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियन्त्रक द्वारेले पुनः योगका लागि आवेदन दिनेको पुनः योग भइरहेको र त्यसको नतिजा यही साउन १६ गतेभित्र प्रकाशन गरी दुई विषय बाँकी रहेकालाई पाँच दिनको अवधिमा पनि पूरक परीक्षामा सामेल हुने वातावरण मिलाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us