
काठमाण्डु ,१६ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् ।
शनिबार पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उलनले यस्तो बतएका हुन ।उनले भने, माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ।
हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ त्यसका लागि नयाँ ढङ्गले सोच्दै छौँ।
हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।
छलफलको क्रममा प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेकोले त्यसलाई सफा नगरी देश नबन्ने ठोकुवा गरे ।