कोशीमा जसपा तटस्थ बस्ने

काठमाण्डु टुडे २०८० असार १४ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, १४ असार- जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो। आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ।

प्रदेशको नामाकरण जालझेलपूर्ण तरिकाले कोशी राख्ने र त्यसविरुद्ध पहिचान पक्षधर न्यायप्रमी जनताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि समेत बर्बर दमन गर्ने एमाले नेतृत्वको सरकारलाई हामीले दिएको समर्थन जेठ १६ गते नै फिर्ता लिइसकेका छौं विज्ञप्तिमा भनिएको छ ।

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन्। जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए । यहाँ एमालेको ४०, कांग्रेसको २९, माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us