
काठमाण्डु ५ असार, असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन्।
उक्त विपदमा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको पनि उनले जानकारी दिए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ ।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिने पनि बताएका छन् । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम दिने जानकारी दिए ।