भारतमा पहिरोले पुरिएर नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १२ गते ७:३४ मा प्रकाशित

दार्चुला, १२ साउन – भारतमा पहिरोले पुरिएर एक नेपालीको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पिथौरागढ जिल्लाको पाङ्गला बयालघारमा पहिरोले पुरिएर बैतडीका सोभानसिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बेलापुर–९ डडेल्धुराका राजेश खड्का रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भारतीय व्यापारी सुरेन्द्रसिंह बोहराको सामान लगेर मालपा जाँदै गरेको अवस्थामा दार्चुला सदरमुकामसँगै रहेको दार्चुलाबाट ३२ किलोमिटरको दुरीमा रहेको बयालघारमा माथिबाट पहिरो आएर उनीसँगै अन्य भारतीय पाँचजनाको पनि मृत्यु भएको छ ।

भारतीय पक्षले कालापानीसम्म डोबल सडक विस्तार गरिरहेकाले केही वर्षदेखि त्यहाँ नियमित पहिरो आउने गरेको छ । दार्चुला तथा बैतडीका धेरै नेपालीहरु आफ्नो गुजारा चलाउनका लागि भारतीय व्यापारी तथा सेनाको सामान ढुवानी गर्ने गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us