
काठमाण्डु, ५ जेठ– एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुमघाममै बिताएको बताएका छन ।
आज (शुक्रबार) एमाले संसदीय दलले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । रावलले घुमघाममै दिन बिताएको भन्दै जनपक्षीय काम नभएको गुनासो गरेका छन ।
उनले भने, ‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम गरे भनेर बिहानै बोलाएर लामै फेहरिस्त बाड्नुभएछ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरे, त्यो काम गरे भन्दैमा कसले पत्याउँछ रु’ रावलले भने, ‘यो सरकारका मुख्यमन्त्री र मन्त्रीहरु घुमघाममै ठीक्क छन् ।’
रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजन बाहेक तीन महिनासम्म प्रदेशसभालाई कुनै विजनेश नै दिन नसकेको बताएका छन ।
उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नु प्रदेश सरकारको पहिलो असफलता भएको बताउदै सरकारका एक सय दिन उत्साहविहीन र निराशावादी रहेको बताएका छन । उनले आफूहरुकै दबाबमा बजेट निर्माणका सम्बन्धमा स्थानीय तहबाट योजना छनौटको प्रक्रियाको थालनी गर्नु राम्रो पक्ष भएको बताएका छन ।
उनले भने, ‘सरकारले पूर्णता पाउन सकेको छैन, उत्साहविहीन र निराशा बाहेक केही छैन । जनताले विकासको प्रत्याभूति गर्न पाएका छैनन्, ‘प्रदेशसभालाई विजनेश दिन सकेको अवस्था छैन, ऐन कानून निर्माणमा ध्यान छैन ।
मुख्यमन्त्री र मन्त्रीहरु राज्यको पैँसामा घुमफिरमा मात्र व्यस्त देखिन्छन् । यो सरकार असफल देखियो ।’