
रोल्पा, १ जेठ– रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार रहेकी छन ।
श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुग्नुभएकी उहाँको नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत रहेका छन ।
ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले भने, ‘ चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, सोही क्रममा मृत्यु भएको रहेछ’ ।
नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतिलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल ईलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले बताएको छ ।