
गोरखा, १ जेठ– गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया किरमाया आले रहेकी छन ।
जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जथानकारी दिएका छन ।
काठमाण्डुबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते भएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका थिए । घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा रहेका छन ।
घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिएका छन ।