संसदमा पुगेन टोपबहादुर रायमाझी पक्राउ परेको सूचना

काठमाण्डु टुडे २०८० जेठ १ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १ जेठ– एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।

उनले भने, ‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ ।

नेपालको संविधानको धारा १०३ को उपधारा ९६० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा रहेको छ ।

संविधानको धारा १०३ मा संसदमा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था रहेको छ ।

सांसद टोपबहादुर रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले आइतबार साँझ काठमाण्डुको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई रायमाझी पक्राउ परेको सूचना नदिएका कारण सोमबार प्रतिनिधिसभामा उनी पक्राउ परेको सूचना सुनाउने विषय कार्यसूची रहेको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us