पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइयो

काठमाण्डु टुडे २०८० जेठ १ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बयानमा लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डु लगीएको छ।

बबरमहलमा सोमबार उनको दिनभर बयान लिने कार्यक्रम रहेको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले उनलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।

पक्राउ परेको ४ दिनपछि प्रहरीले उनलाई सरकारी वकिल साक्षी राख्दै बयान सुरु गरेको छ । सरकारी वकिलको कार्यालयमा उनलाई उक्त प्रकरणबारे हालसम्म देखिएका विषय, उनी गृहमन्त्री हुँदा गरेका निर्णय र बिचौलियाहरुसँग सम्बन्ध तथा पैसा लेनदेनको विषयमा प्रश्न तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रमुख अच्युतमणि नेउपानेले पूर्व गृहमन्त्री खाणको बयान सोमबार दिनभर गरेर सक्नुपर्ने बताएका छन ।

उनले आइतबार नै अनुसन्धान टोलीलाई बयान सक्न र ४ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देशन दिइकेका छन । उक्त प्रकरणमा खाणलाई आफैंले सचिव बनाएका टेकनारायण पाण्डेले तानेका थिए।

पाण्डेको मोबाइलमा रकम लेनदेनको कुरा भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुका बीचमा शरणार्थी प्रंकरणमा करोड लेनदेनको कुराकानी भएको फेला पारेको थियो।

त्यसपछि निवासबाटै पक्राउ गरेर खाणलाई हिरासतमा राखिएको थियो। बयानपछि प्रहरीले थप अनुसन्धान अघि बढाउनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us