स्वच्छ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ: देउवा

काठमाण्डु टुडे २०८० वैशाख २० गते १२:२० मा प्रकाशित

 

काठमाण्डु, २० वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको भएको बताएका छन ।

उनले आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा शुभकामना र बधाई दिएका छन् । शुभकामना सन्देशमार्फत उनले प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको र स्वच्छ, स्वस्थ तथा निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन ।

मे महिनाको ३ तारिख अर्थात आज संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । पत्रकार जगत्ले आफ्नो हक र हितका निमित्त सङ्गठितरूपमा दृढ साहस र सङ्कल्पका साथ सङ्घर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन पनि हो ।

देउवाले कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यावसायिक पत्रिकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारमाध्यममा सञ्चारकर्मीको पेसागत एवं व्यावसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको बताएका छन । उनले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सराहना गरे ।

उनले भनेका छन, ‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने सञ्चारकर्मीले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us