
काठमाण्डू, ८ जेठ– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै ठगी गरेर फरार भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कन्चनपुरका ५२ वर्षीय लोकजन खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको हो । गुरुङले अजरबैजान पठाउने भन्दै ५ लाख ठगी गरेको आरोप छ ।
अधिकारीले जापान पठाउने भन्दै ३ लाख, घिमिरेले पनि जापान पठाउने भन्दै ५० हजार र खड्काले थाइल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।