दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या प्रयास

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १८:२० मा प्रकाशित

धनुषा, ८ वैशाख– धनुषामा दाइजो नदिएको भन्दै श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरीएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा श्रीमान् राजीव झासहित परिवारका अन्य सदस्यहरु मिलेर आगो लगाई हत्या गर्ने प्रयास भएको घटना बाहिरिहेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी श्वेताले श्रीमान् राजीवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी छन ।

आफूलाई श्रीमान् राजीव, ससुरा शिवशंकर झा, सासु र देवर लगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको दाबी श्वेताले जानकारी दिएकी छन ।

१ वैशाखमा राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताले बताएकी छन ।

राजीवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको उनले बताएकी छन । घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् ।

श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ । घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान् राजीव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताएकी छन ।

त्यतिबेला बुबाले २ लाख भारतीय रुपैयाँ दिएपनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us