प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सुस्ताको विषय उठोस्: विनोद चौधरी

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १५:१९ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– कांग्रेस सांसद विनोद चौधरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले गण्डक, सुस्ता र कोशीका कारण हुने डुबान र कटानबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको बताउँदै उनले यसको स्थायी समाधान खोज्नुपर्ने बताएका छन ।

चौधरीले ५० वर्षदेखि बर्दघाट सुस्ता पश्चिममा हरेक वर्ष सुस्ता र गण्डकका हजारौं परिवार र खेतबारी डुबानमा पर्ने गरेको बताएका छन ।

उनले भने, ‘अर्बौंको क्षति हुन्छ । भारत र नेपालका बीचमा पचास वर्ष पुराना संरचना पुनर्निर्माणका लागि कुनै द्विविधा छैन । पटकपटक सहमति सम्झौता भएका छन्,’ प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो विषय अत्यन्तै महत्त्वपूर्ण एजेण्डाका रुपमा प्रवेश गरोस् । ५० वर्षदेखि थुप्रिएका गण्डक र कोशीका समस्याको समाधानका लागि प्रष्ट खाका बाहिर आओस् ।’

उनले १५ मेगावाटको सूर्यपुरा पावलप्लान्ट तीन मेगावाटमा मात्रै सञ्चालनमा आएको भन्दै उक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us