
काठमाण्डु,५ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छैनन् । पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
तर, उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ५ वैशाखसम्म पनि फिर्ता गरेका छैनन् । संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले उक्त गाडी फिर्ता गराउन पहल गरिरहेको जानकारी दिएका छन ।
उनले भने, ‘हामीले पहल गरिरहेका छौं । हामीलाई गाडीको अभाव छ भनेर मागिरहेका छौं । तर, के कारणले ढिलो गर्नुभयो थाहा छैन’ ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था रहेको छ ।
ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’
तर, व्यवहारिक रुपमा गाडी फिर्ताका लागि १५ दिनसम्म समय दिँदै आएको संघीय संसद सचिवालयका कर्मचारीहरु जानकारी दिएका छन ।