
काठमाण्डु, ४ वैशाख– काठमाण्डुको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो ।
दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको प्रहरीले बताएको छ । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।
त्यस क्रममा प्रहरीको लाठी लागेर ४र५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाण्डु केन्द्रित आन्दोलनमा आएको छ ।