रविबारे चित्रबहादुर केसीको टिप्पणी: खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १५:०५ मा प्रकाशित

काठमाण्डु,३ वैशाख-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताएका छन ।

पूर्व गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति देखिएको बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने ‘ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा ७ दिनको बोलपत्र गर्नु कानुनी रुपमा पनि अक्ष्यम्य छ ।

देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन’ ‘जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ ।

‘ उनले पुराना पार्टीहरुले आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेको भन्दै केसीले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेको नाम नलिई नयाँ पार्टीबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरेकामा पूरा हुन नसकेको बताएका छन ।

उनले भने,‘पुराना पार्टीहरुले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउथे । नयाँ आउने पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिरहेका थिए’ ‘खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्यो । त्यसैले यस्ता प्रवृत्तिलाई त्यसै छोड्नुहुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us