
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी भएको बताएका छन ।
१० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताएका छन ।
उनले भने, ‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् । ’
उनले आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’ मतान्तर कति होला भन्ने प्रश्नमा उनले त्यो निर्वाचनपछि मात्र थाहा हुने बताएका छन ।
४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाट निर्वाचित भएका थिए तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसैले आगामी बैशाख १० गते यहाँ उपनिर्वाचन हुन लागेको हो ।