
काठमाण्डू, २६ असार– देशभर मनसुनी वायुले प्रभाव जमाउँदै लगेकाले आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
विशेष गरी दिउँसो हल्कादेखि मध्यम वर्षा भइरहने अनुमान गरिएको छ भने रातिपख एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिमी भागमा सामान्यभन्दा केही उत्तरतिर सरेको छ । मौसमविद्हरूका अनुसार मनसुनको रेखा जहाँ अवस्थित हुन्छ त्यहाँ अधिक वर्षा हुने सम्भावना बढी हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएअनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुनसक्ने देखिएको छ ।
वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसबाहेक ठूला–साना नदी, खोला र नालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा विशेष ध्यान दिन पनि भनिएको छ ।
मौससमका कारण दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा असर पुर्याउने सम्भावना रहेकाले सम्बन्धित निकाय र आम नागरिकलाई आवश्यक सतर्कता र तयारीका साथ अगाडि बढ्न अनुरोध गरिएको छ ।