
रसुवा, ७ साउन – मैलुङ जल विद्युत् आयोजनाका सबै काम सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ ।
रसुवा जिल्लाको डाडाँगाउँ र हाकु गाविसको क्षेत्रलाई आधार इलाका बनाई निर्माण सम्पन्न भएको सो आयोजनाले पाँच मेगावाटको परीक्षण प्रसारण गरी असार १९ गतेबाट व्यावसायिक उत्पादन सुरु गरेको हो ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत डा डम्बरबहादुर नेपालीका अनुसार वार्षिक तीन करोड १३ लाख युनिट विद्युत् उत्पादन हुने र नेपाल विद्युत् प्राधिकरणले ती उत्पादित विद्युत् वर्षायाममा तीन रुपैयाँ ७२ पैसा र हिउँदयाममा पाँच रुपैयाँ २७ पैसाको दरले खरिदको पूर्व सम्झौताबमोजिम मैलुङमा उत्पादित विद्युत्लाई तीन किमि माथि राम्चे गाविसको ग्राङ भन्ने स्थानमा तयार गरिएको सवस्टेसनबाट चिलिमे जल विद्युत् कम्पनीको ४७ नम्बरको टावरमार्फत राष्ट्रिय प्रसारणमा पठाइएको छ ।
९३ करोडको लागतमा निर्मित सो आयोजनामा गणेश हिमालको फेदबाट मैलुङ खोला नामाकरण हुँदै ठाडो खोलामा झरेको पानीलाई डाडाँगाउँको म्यालुङ र मैलुङ जोडिएको सङ्गमस्थल केही दूरीमाथि हाकु गाविस वडा नं ९ भूभागमा बाँध बाँधी एक हजार ५५३ मिटर पेनस्टक पाइपको सहायताले डाडाँगाउँ गाविस वडा नं ७ दोभानमा प्रतिसेकेण्ड पाँच घनमिटर पानी पठाइ छ मेगावाट क्षमताको दुई वटा फ्रान्सिस नामको टर्वाइनबाट विद्युत् उत्पादन सुरु भएको आयोजनाका प्रशासक कविराज पौडेलले जानकारी दिए ।
विसं २०५८ मा शुभारम्भ गरिएको सो आयोजना विभिन्न कारणले अवरोध भई २०६८ सालबाट मात्र निर्माणअघि बढी विद्युत् उत्पादन गर्न सफलता मिलेको कार्यरत प्राविधिक बताउँछन् ।
सो आयोजनाले निर्माण गरेको सडकबाट त्रिशूली थ्रि–ए ६० मेगावाट र माथिल्लो त्रिशूली–वान २१६ मेगावाटको काम गर्न सरलता आउनुका साथै सरकारले हालै घोषणा गरेको मैलेङ स्याफ्रुबेंसी सडक निर्माण गर्नसमेत मद्दत पुगेको नागरिक समाजले बताएको छ ।
आयोजना सम्पन्न गर्न ल्किन इनर्जी डेभलमेन्ट बैंकको अगुवाइमा पाँचवटा बैंकले ऋण सहयोग गरेका थिए । मैंलुङखोला जलविद्युत् आयोजना प्राइभेट कम्पनी भएको र सर्वसाधारण सबैमा सेयर उपलब्ध गराई ग्रामीणवासीलाई विद्युत्को प्रतिफल पु¥याउने पब्लिक कम्पनी बनाउन पहल भइरहेको बताइएको छ ।
मैंलुङ खोलाका सबै भागमा विद्युत् ऊर्जा उत्पादनलाई बढवा दिन मोल्निया पावर कम्पनीमार्फत माथिल्लो मैंलुङ १४.३ मेगावाट क्षमताको विद्युत् उत्पादनको निर्माण कार्य गर्न तयारी भइरहेको डा नेपालीले बताए ।