
काठमाण्डु,१६ चैत– राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको जानकारी दिएका छन । कांग्रेसका पूर्व सहमहामन्त्री थापा हिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन ।
राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए । ४ मंसिरमा भएको निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका सुनिल मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएको बताइएको छ ।
राष्ट्रपति पौडेलले बिहीबार मात्र आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।