‘बीपी अरुले खाए /नखाएको ख्याल गर्ने मान्छे’

काठमाण्डु टुडे २०७१ साउन ६ गते ३:०५ मा प्रकाशित

bp_koiralaबीपी कोइराला समकालिन नेताहरुमा अरुभन्दा फरक हुनुहुन्थ्यो । किनभने उहाँले जकिल्यै पनि विचारलाई जीवन पद्धति र व्यवहारसँग जोड्नुभयो । अरुले विचारलाई मात्र सिद्धान्तमा जोडे । बीपीले जहिल्यै पनि विचार/सिद्धान्तलाई संस्कृति र त्यसका मुल्यहरुलाई जीवनसँग एकाकार गराउनुभयो ।
मेरो विचारमा बीपीको राजनीतिक जीवनलाई चार चरणमा अध्ययन गर्नुपर्छ । पहिलो चरणमा २००७ साल वरपर । त्यतिखेर मुलुकमा रणाशासन थियो । जनता त्यसबाट उन्मुक्ति चाहन्थे । भारत अंग्रेज साम्राज्यवादबाट मुक्त भइसकेको थियो । चीनमा पनि कम्युनिष्ट मुभमेन्ट एक ढंगले अघि बढेको थियो । त्यतिबेला बीपीले महत्वपूर्ण राजनीतिक क्रान्तिको नेतृत्व गर्नुभयो । बीपीको अर्को २०१५ सालमा देखियो ।

उहाँले जननिर्वाचित पहिलो सरकारको प्रधानमन्त्री भएर काम गर्नुभयो । उहाँले समाजवादी कार्यक्रमसहितको सरकार चलाउन खोज्नु भएको थियो । तर षड्यन्त्रपूर्वक संसद् विघटन गरियो र दलीय व्यवस्थामा प्रतिबन्ध लगाइयो । सरकार प्रमुखका रुपमा लामो समय काम गर्ने अवसर पाउनुभएन । मेरो विचारमा बीपी राष्ट्रिय स्वतन्त्रता बचाउन सबैभन्दा सामथ्र्यवान नेता हुनुहुन्छ । उहाँ प्रधानमन्त्री भएका बेला मुस्ताङमा नेपालका केही सुरक्षकर्मीलाई चीनका सेनाले मारिदिए । भारतमा जवहारलाल नेहरु प्रधानमन्त्री थिए ।

नेपाली भूमिमा आएर चीनको सेनाले नेपाली सुरक्षाकर्मीको हत्या गरेको विषयलाई नहरुले गम्भीर रुपमा लिनुभयो । त्यहाँको संसदमा नेहरुले ‘नेपालमाथिको आक्रमणलाई भारतले आफूमाथिको आक्रमण ठान्छ’ भन्नुभयो । त्यसमा बीपीले तत्कालै आपत्ति जनाउनुभयो । उहाँले नेहरुको अभिव्यक्तिलाई सन् १९५० को अन्धिविपरीत पनि गलत रहेको बताउनुभयो ।

बीपीले भन्नुभयो, ‘यो नेपाल सार्वभौम र स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता भएको मुलुक हो ।’ बीपीले त्यो भन्ने बित्तिकै नेहरुले क्षमाचना गर्नुभयो । र नेपालका प्रधानमन्त्रीले भनेका कुरामा आफू सहमत रहेको बताउन बाध्य हुनुपर्‍यो । चीनमा चाउ एनलाई प्रधानमन्त्री थिए । उनले आफ्ना सेनाले नेपालका सुरक्षाकर्मीको हत्या गरेकामा माफी मागेर क्षतिपूर्ति पनि दिनुभयो ।
बीपीलाई अध्ययन गर्दा २०१७ देखि ३२ सम्मलाई लिन सकिन्छ । २०१७ देखि २५ सम्म जेल बस्नुभयो । २०२५ ंदेखि ३२ सम्म सशस्त्र आन्दोलनको परिकल्पना गर्नुभयो । त्यही बेलामा सर्वाधिक साहित्यिक कृतित्वको जन्म पनि दिनुभयो । चौथो काल २०३३ देखि जीवन पर्यन्तसम्मको रह्यो । २०३३ सालमा बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभयो । राष्ट्रियतामाथि संकट आइलागेकाले त्यसलाई जोगाउन उहाँ आफ्नो ज्यानको बाी लगाएर स्वेदेश फर्कनुभएको हो । देशभित्र जनता जागरुक भए मात्र परिवर्तन सम्भव र त्यो दिगो हुन्छ भन्ने बीपीको विश्वास थियो ।

बीपीको राजनीतिको चौथो चरणका केही भागहरुमा मैले उहाँको नजिकमा रहेर पत्रकारिता गर्ने अवसर पाएको थिएँ । म भर्खरको युवा थिएँ । होमनाथ दाहाल राष्ट्रपुकार साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । २०३४सालतिरको कुरा हो, बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको एक वर्ष भएको थियो । होमनाथ दाईले मलाई राष्ट्रपुकारमा काम गर्न बोलाउनुभयो । मैले काम थालें । त्यो बेला राष्ट्रपुकारले नेपाली काँग्रेसलाई समर्थन गथ्र्याे । तीन वर्षसम्म बीपीसँग यो वा त्यो रुपमा घुम्ने अवसर मिल्यो । त्यसबेला बीपीका केही स्वभावहरुले मलाई निकै प्रभावित पारेको थियो ।
उहाँ राजनीतिक अभियानमा सँगै हिंडेका बेला आफूसँगका साथीहरुको निकै ख्याल गर्नुहुन्थो । कोही पनि भोकै बस्नु हुँदैन भन्ने मान्यता थियो । सम्भव भएसम्म सँगै हिंडेका साथीहरुसँग खाना खाने बानी थियो । खाना खाने बेलामा आफ्ना कोही साथी भोकै छन् कि भनेर सोधीखोजी गर्नुहुन्थ्यो । खोजेर खुवाउन लगाउनुहुन्थो । उहाँमा हरेक साथीहरुका सुख दु:ख बुझ्न सक्ने क्षमता थियो । बिहान उठेपछि राति निन्द्रा लाग्यो कि लागेन, सुताई कस्तो भयो भनेर सोध्नुहुन्थ्यो । अहिलेका नेताहरु लुसुक्क भित्र छिर्छन, आफू मात्र खान्छन्, बाहिर कार्यकर्ता भोकै हुन्छ । तिमिहरुले के खायो भनेर कसैले सोध्छ ? समग्रमा बीपी विचारलाई जीवनमा उतार्न सक्ने, तर सत्ताको निरन्तरताका हिसाबले असक्षम हुनुभयो ।
नेपालको राजनीतिको जगमा पृथ्वीनाराणय शाह भिजन भएको नेता हो । पृथ्वीनारायण नभएको भए आजको विशाल र आधुनिक नेपाल हामीसँग नहुन पनि सक्थ्यो । मध्य समयको नेता बीपी हुनुहुन्थयो । त्यसै गरी उत्तरकालको कुरा गर्ने हो भने मदन भण्डारी र पुष्पकमल दाहाललाई र लिनुपर्छ । उहाँहरु दुवै जना समयअनुसार अघि बढ्न सक्ने नेता हो । एउटा अतिवादी शक्तिलाई कन्भिन्स गरेर शान्तिपूर्ण धारमा ल्याउनु कम चुनौतीपूर्ण काम थिएन ।
बीपीमा अदभुत सम्झना शक्ति थियो । ३० वर्ष पहिला देखेको वृद्धालाई ३० वर्षपछि देख्दा सम्झानुहुन्थ्यो । एक जना कार्यकर्ताकी आमा जसले ३० वर्ष पहिले दही चिउरा खान दिएकी थिइन्, ३० वर्षपछि भेट्दा पनि उहाँले चिन्नुहुन्थ्यो । एकपटक चितवनमा एकजना प्रहरी अधिकृतसँग भेट भयो । उहाँले ती प्रहरीलाई भन्दिनुभयो, तिमि त अफिसर भइसके छौ । बीपीको कुरा सुनेर ती प्रहरी रोए । नाम त अहिले ठ्याक्कै सम्झना भएन । तर बिमानसिंह राईले प्रधानमन्त्री भएका बेला बीपीलाई भेटाइदिएका रहेछन् । बिमानसिंह बीपी नेतृत्वको सरकारमा सहायकमन्त्री थिए । बीपीले प्रधानमन्त्री हुँदा भर्ना गरिदिएका कारण ती प्रहरी अधिकृत बीपीको नजिक आएर मलाई चिन्नुहुन्छ भनेर सोधेका रहेछन् । बीपीले नाम त थाहा छैन, तर बिमानसिंहले भनेर प्रहरीमा जागरि लगाइदिएको थिएँ भन्नुभयो । स्मरणशक्ति बेजोडको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us